मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा स्याङ्जाका ७ जनाको मृत्यु, तीन घाइते ।

  • karmacharikhabar
  • २०८३ कार्तिक १२, बुधबार
1.2K
SHARES
गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा स्याङ्जाका ७ जनाको मृत्यु, तीन घाइते ।

गुल्मीको कालीगण्डकी गाउँपालिका–२, अर्बेनी स्थित दभौखानीमा स्कार्पियो दुर्घटना हुँदा स्याङ्जाका ७ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्ला समन्वय समिति स्याङ्जाका पूर्व उपप्रमुख दिलीप वाग्ले पनि रहनुभएको छ ।

गुल्मी प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनुभएका स्याङ्जा वालिङकी निता बगालेको समेत उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या सात पुगेको हो ।

गण्डकी प्रदेश बा एए ०२२० नम्बरको स्कार्पियो सिरकोटबाट राक्से हुँदै वालिङतर्फ जाने क्रममा दभौखानीको भित्री सडकखण्डबाट करिब २०० देखि २५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा पाँच जनाको घटनास्थलमै र अन्यको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

मृत्यु हुनेमा वालिङका दिलीप वाग्ले, शिव पराजुली, कालीगण्डकी गाउँपालिका–१, सिरकोटका लोकनाथ पाण्डे र कुलानन्द पाण्डे, हाल वालिङ बस्दै आएकी सीता पाण्डे तथा निता बगाले रहेका छन् । सातौँ मृतकको नाम र ठेगाना भने प्राप्त विवरणमा खुलाइएको छैन ।
दुर्घटनामा घाइते भएका कालीगण्डकी गाउँपालिका–१, सिरकोटका छविलाल पाण्डेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको छ । उहाँको अवस्था गम्भीर रहेको छ  ।

त्यस्तै, हाल वालिङ बस्दै आउनुभएका गोमता पाण्डेको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ । उहाँको अवस्था मध्यम रहेको छ । वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदीलाई मिर्मीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ। उहाँको अवस्था पनि मध्यम रहेको छ  ।
कालीगण्डकी गाउँपालिका अध्यक्ष वेद थापामगरका अनुसार दुर्घटनामा परेका व्यक्तिहरू पारिवारिक भ्रमणमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



karmacharikhabar   
  • २०८३ कार्तिक १२, बुधबार ०३:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार